काठमाडौं, ९ जेठ । कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनको स्वागतका लागि नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराती, उच्च सरकारी अधिकारी तथा सर्वसाधारणको विमानस्थलमा उपस्थिति थियो । उनलाई मन्त्री किरातीले खादासँगै ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले समेत बुढामगरलाई बधाई दिएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले राष्ट्रपतिको बधाई सन्देश बुढामगरलाई हस्तान्तरण गरेका हुन् ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।