नक्कली शरणार्थी प्रकरणमा एमालेले कारबाही गर्दा काँग्रेस जोगाउन लाग्यो: उपमहासचिव ज्ञवाली

Byन्यूज स्रोत

२०८० जेष्ठ ४, बिहीबार ०६:३० गते २०८० जेष्ठ ४, बिहीबार ०६:३० गते २०८० जेष्ठ ४, बिहीबार ०६:३० गते

पोखरा, ०४ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारबाही गरिरहँदा काँग्रेस भने जोगाउन तर्फ लागेको बताएका छन् ।

प्रेस चौतारी, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको बताएका हुन् ।

‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ । किनभने यो सानो ठगी, अपराध मात्रै होइन । नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो,’ ज्ञवालीले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोलि छानबिनले बताउँला । छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौंत । तर अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’
काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परिसक्दा पनि पार्टीले कुनै कारबाही प्रक्रिया अघि नबढाएको तर्फ ज्ञवालीले इंगित गरेका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने उपमहासचिव ज्ञवालीले उल्लेख गरे । ‘यस प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्छ, भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छलफल हुनुपर्छ ।’ ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीले एमाले सरकार ढलाउनतर्फ नलागेको भन्दै सत्तासीन दलकै कारण ढल्ने जिकिर गरे । उनले भने – ‘जनसराेकारसँग सरकारको सवाल नै छैन । सरकारको उपस्थिति जनतासम्म छैन । स्वार्थको गठबन्धन हो । जब स्वार्थ बाझिन्छ, टकराव बढ्छ, ढल्छ । आर्थिक क्षेत्र जर्जर छ । व्यापार व्यवसाय चौपट छ । सरकारलाई मतलब छैन ।’

उपनिर्वाचनको परिणामलाई गम्भीर रूपमा लिएका छौँ भन्दै ज्ञवालीले तनहुँ र चितवनमा भोट घट्नु सोचनीय कुरा रहेको बताए । ‘सीट त ३ वटै गुमेको क्षेत्र भएकाले सीट संख्यामा फरक नपरेपनि २ क्षेत्रमा सोचेनुरूप नहुँदा हामीले चिन्ता गर्नुपर्दछ । तर, १०० मिटरमा दौडँदा हार्न सकिन्छ । म्याराथन दौडिने पार्टी एमाले हो । म्याराथनमा जित्नु मूख्य कुरा हो ।’

नयाँ पार्टीका बारेमा टिप्पणी गर्ने बेला भएको छैन भन्दै उनले थपे – ‘राम्रो गर्नुहोस् शुभकामना छ। तर, पार्टीको नीति के हो ? परराष्ट्र नीति के हो ? आर्थिक नीति के हो ? स्पष्ट भने भइसकेको छैन ।’