काठमाडौं, १९ वैशाख । वर्षाका कारण स्थगित भएको एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आज हुने भएको छ । सोमबार बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार बिहान ९ बजेदेखि सुरु हुने भएको हो ।
सोमबार टस हारेर ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाउँदा वर्षाका कारण रोकिएको थियो । खेलमा यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।
२८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललित राजवंशीका लागि भने आज हुने खेलको पहिलो बल ह्याट्रिकको अवसर हुनेछ ।
सोमबार नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका थिए ।
प्रतियोगितामा रिजर्भ डे राखिएका कारण प्रतियोगिताको नियमअनुसार आज बाँकी खेल खेलाउने निर्णय गरिएको हो ।
आज पनि मौसम खराबीका कारण खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ ।