गण्डकीमा सरकार गठनका लागि आह्वान

Byन्यूज स्रोत

२०८० बैशाख १२, मंगलवार ०८:२१ गते २०८० बैशाख १२, मंगलवार ०८:२१ गते २०८० बैशाख १२, मंगलवार ०८:२१ गते

पोखरा, १२ वैशाख । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनको समय तोकेर बहुमतको सरकार गठन गर्नका लागि आह्वान गरेका छन् । बिहीबार ४ बजेसम्म दाबी गर्ने समय तोकेर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न मंगलबार आह्वान गरेका हुन् ।

गण्डकीमा पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीलाई माओवादीले दिएको समर्थन चैत १० गते फिर्ता लिएसँगै त्यसको एक महिनापछि ९ गते शनिबार अधिकारी नेतृत्वको सरकार ढलेको थियो ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता गरेको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा ९ गते शनिबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतको मागेका थिए । तर, विपक्षमा ३५ जनाले मत दिएपछि अधिकारी नेतृत्वको सरकार ढलेको हो । उनको प्रस्तावमा एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र मत दिएका थिए । प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, सभामुखबाहेक माओवादीका ७ र स्वतन्त्र निर्वाचित भई एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिएका थिए । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन ३१ सांसदको समर्थन चाहिन्छ ।

प्रदेशको ठूलो दल नेपाली कांग्रेसले उपधारा ३ बमोजिम संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान राख्दै आएको थियो । तर, सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेको भन्दै उपधारा दुई बमोजिम सरकार गठन हुनुपर्ने बताउदै आएको थियो । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्नका लागि आह्वान गरेसंगै यो अन्योलको अन्त्य भएको छ ।

प्रदेशमा आलोपालो मुख्यमन्त्रीमा सहमति भएको बताउदै आएका नेपाली कांग्रेस र माओवादी दुवैले पहिलो मुख्यमन्त्रीमा आ-आफ्नो अडान राख्दै आएका छन् । प्रदेश प्रमुखले उपधारा ३ प्रयोग गरेको भए स्वतः कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुने भएका कारण कांग्रेसले उपधारा ३ का लागि शीर्ष तहमै दबाव दिन सुरु गरेको थियो । तर, उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिने चेतावनी माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले दिएका थिए । बहुमत दलको समर्थनको सरकार गठन हुनुपर्ने र सुरुमा कांग्रेसले आफूलाई समर्थन गर्नुपर्ने दाबी माओवादीको छ ।