तनहुँ, १२ वैशाख । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार सात सय उनान्न्बे मतले पछि पार्दै वाग्ले निर्वाचित भएका हुन् ।
सहायक निर्वाचन अधिृकत मीनबहादुर कुंवरका अनुसार वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गर्दा भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा अर्का प्रतिस्पर्धीको रुपमा हेरिएका नेकपा एमालेका उम्मेदवारसर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरे । यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ र नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच मत प्राप्त गरेका छन् ।
यहाँयहाँ १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा ६५ हजार तीन सय १६ मत खसेको थियो । खसेको मत मध्ये एक हजार एक सय ८१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो स्थानमा उप निर्वाचन भएको हो ।
उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. वाग्ले हालै मात्र नेपाली कांग्रेस परित्याग गरी रास्वपा पार्टी प्रवेश गरेर उम्मेदवार बनेका थिए ।