पोखरा ९ बैशाख । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत पाउन नसके पछि उनको सरकार ढलको छ । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन् ।
मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा समक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसे पछि उनी पदमुक्त भएका हुन । उनले आफुलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र चुनाव जितेर नेकपा एकीकृत प्रवेश गरेका दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।
केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक ब्यवस्था अनुसार दोस्रो पटक विश्वासको मत लिएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसकेका हुन ।
गण्डकीमा केन्द्रीय सत्ता गठबन्धन अन्तर्गतका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् । प्रदेश प्रमुखले आह्वान गर्ने बित्तिकै सरकार बनाउनेतिर लाग्ने गठबन्धनका नेताले बताएका छन् ।