पोखरा, ९ वैशाख । तनहुँ १ नम्बर निर्वाचन क्षेत्र भित्रको पृथ्वी राजमार्ग सडक खण्डसहितको सडकमा भोलि गाडी नचल्ने भएका छन् ।
भोलि यस क्षेत्रमा हुन गइरहेको उपनिर्वाचनका कारण अत्यावश्यकबाहेकका गाडी चल्नलाई रोक लगाइएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
आइतबार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइने तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
पृथ्वी राजमार्ग हुँदै चल्ने रात्रीबसलाई आइतबार बिहान ४ बजेभित्र तनहुँ–१ को सडक पार गरिसक्न तनहुँ प्रशासनले आग्रह गरेको छ । पृथ्वी राजमार्ग बन्द हुँदा पोखरा भित्रिने तथा पोखराबाट बाहिरिने पर्यटक तथा सर्वसाधारण प्रभावित हुने भएका छन् ।