पोखरा, ८ वैशाख । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
उक्त प्रभावका कारण गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।