विश्वासको मत लिने विषयमा छलफलपछि मात्रै थाहा हुन्छ: मन्त्री गाहा

Byन्यूज स्रोत

२०८० बैशाख २, शनिबार १६:२५ गते २०८० बैशाख २, शनिबार १६:२५ गते २०८० बैशाख २, शनिबार १६:२५ गते

पोखरा, ०२ चैत । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा मगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताएका छन् ।

अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै मन्त्री गाहा मगरले प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो रोजेको बताएका हुन् ।

मन्त्री गाहाले वर्तमान सरकार ले विश्वासको मत लिने विषयमा राजनीतिक दलहरूसँग परामर्श भइरहेको बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ । त्यही अनुरूप सरकारले आफ्नो निकास खोज्दै छ, उनले भने, ‘अन्य राजनीतिक दलहरूसँग पनि परामर्श हुँदै छ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति सम्भावना रहन्छ । त्यही अनुसार अघि बढ्छौ । अन्यथा संवैधानिक व्यवस्था अनुसार अरू दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’

उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउँदै सरकारबाट बाहिरिँदा योजनाहरूमा प्रभाव पर्ने धारणा राखे । ‘केही नयाँ कुराहरूमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरू रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरूमा प्रभाव पर्ने देखिएको छ ।’

मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै उनले समाधानका लागि सक्दो पहल गर्ने बताए । मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारहरूलाई अधिकार सुनिश्चित गराउनका लागि आफूले सरकार बाहिरै रहे पनि भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिनाले पछिल्लो समयमा अनलाइन पत्रकारिताको महत्त्व बढेको बताइन । नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुबेदीले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा लगेको विधेयक पत्रकार अनुकूल नभएको बताए । अन्य विधामा रहेका पत्रकार पनि अनलाइनमा आउनुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कोभिड १९ पछिको समयमा नेपालमा अनलाइन पत्रकारिताको महत्त्व बढेको बताए ।

प्रशिक्षक केशव शरण लामिछानेले पत्रकार अनलाइनमा जान नसके पत्रकारिता नै नरहने बताए । प्रशिक्षक भरत कोइरालाले अहिले मिडिया सङ्क्रमणकालीन अवस्थामा रहेको जानकारी दिँदै प्रदेश सरकारले मिडिया सम्बन्धी कानुन बनाउन ढिलो गरेको धारणा राखे ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले पत्रकारलाई आचारसंहिता र तथ्य जाँचबारे ज्ञान दिलाउँदै अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको बताए । उनले आगामी दिनमा तालिमलाई निरन्तरता दिने बताए ।

शनिबार भरत कोइरालाले कन्टेन्ट राइटिङ र केशव शरण लामिछानेले डिजिटल जर्नालिजमको विषयमा प्रशिक्षण गराएका छन् । आइतबार दीपक अधिकारीले तथ्य जाँच सम्बन्धी प्रशिक्षण गराउने छन् । सोमबार प्रेस काउन्सिलका अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहिताबारे प्रशिक्षण गराउने छन् ।

तालिममा ४० भन्दा बढी पत्रकार सहभागी भएका छन् । शनिबार बाट नै अनलाइन पत्रकार संघ गण्डकीले संघको वेबसाइट www.onlinejournalist.org.np शुभारम्भ गरेको छ ।