पोखराको सेती खोँच नजिकै भ्वाङमा खसेकी बालिकाको अचेत अवस्थामा उद्धार गरिएको छ । पोखरा वडा नं. ८ नागढुंगा घर भएकी १२ वर्षकी स्मृति पराजुलीको झण्डै २ घण्टापछि उद्धार भएको हो । उनलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जाेशीले जानकारी दिए ।
शनिबार दिउँसो ३ बजेतिर पोखरा १५ स्थित सीताराम हाउजिङको चौरमा खेलिरहेकोमा स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् । उक्त स्थान १ माघमा यतिको विमान दुर्घटना भएको ठाउँ नजिकै हो ।
दिउँसो ३ बजेतिर बच्चा खोँचमा खसेको जानकारी आएपछि प्रहरी टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
भ्वाङ भित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको प्रहरीले जनाएको छ । घटना भएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक माधव केसीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो