रास्वपा सांसद श्रेष्ठले प्रसाईँसँग घुस माग्दै किन गरे डा.केसीको मृत्युको कामना ?

Byन्यूज स्रोत

२०७९ चैत्र २६, आईतवार ११:५२ गते २०७९ चैत्र २६, आईतवार ११:५२ गते २०७९ चैत्र २६, आईतवार ११:५२ गते

काठमाडौँ, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद ढाकाकुमार श्रेष्ठले पार्टी र सभापति रवि लामिछानेका नाममा २ करोड मागेको अडियो सार्वजनिक भएको छ । उनले आफू स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।

सार्वजनिक अडियोमा उनले धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सुधार गर्नुपर्ने र त्यसका लागि प्रसाईँले सपोर्ट गर्न पर्ने भनेका छन् । उनले प्रसाईँसँग मिलेर स्वास्थ्य क्षेत्र धोइपखाली गर्ने मात्र भनेका छैनन्, चिकित्सा शिक्षामा सुधारको माग राख्दै लामो समयदेखि आवाज उठाउँदै आएका डा. गोविन्द केसी मृत्युको कामना समेत गरेका छन् । कुराकानीका क्रममा श्रेष्ठले डा. गोविन्द केसी देखेर दिक्क लागेको भन्दै डा. केसी कहिले मर्छ जस्तो लागेको भनेका छन् ।

देशमा जहाँ जहाँ मेडिकल कलेज छैनन् त्यहाँ सरकारले नै मेडिकल कलेज खोलेर जनताका छोराछोरीले निःशुल्क अथवा सस्तोमा चिकित्सक बन्न पाउने व्यवस्था गर्नुपर्ने र गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने माग राख्दै विभिन्न समयमा आन्दोलन गर्दै आएका मेडिकल शिक्षा सुधारका अभियन्ता हुन् डा. केसी।

केही समय अघि नेकपा नेतृत्वको सरकारले मेडिकल कलेज खोल्न पाउने गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयक बहुमतले पास भयो । सञ्चालक दुर्गा प्रसाईँ रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सत्तारुढ दल नै लागेको आरोप लाग्न थाल्यो । डा. केसी लगायतका सरोकारवालाको आग्रहलाई बेवास्ता गर्दै विधेयक पास भएपछि डा. केसी त्यसको पनि विरोधमा उत्रिए । आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउनबाट रोक्न डा. केसी लागिपरेको भन्दै प्रसाईँ डा. केसीको विरोधमा उत्रिएर उल्टो मुद्दा मामिला तर्फ लागे ।

सांसद ढाकाकुमार श्रेष्ठले त्यहीँ कुरालाई उचालेर आफुँ प्रसाईँको पक्षमा रहेको देखाउन डा. गोविन्द केसी माथि अमानवीय ढंगले कुराकानीमा प्रस्तुत भएका हुन् ।

अडियो कुराकानीको अंश…

ढाकाकुमार श्रेष्ठ – दुई, साढे दुई भनेका छन् । मैले अहिले १ दिए भने पनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् दुई तीन दिनको ।

दुर्गा प्रसाईँ- फेरि आज बन्द छ नि त ! आज बन्द छ । फेरि ९ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर म दिन्छु । तपाईँले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईँले ।

ढाकाकुमार श्रेष्ठ – हैन, त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त। पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो ।

दुर्गा प्रसाईँ- मैले मेरो छोरीलाई जापान पठाउनुपर्‍यो त्यो टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर एमडी गर्नलाई । यहाँ आफ्नोमा छ रेडिएसन अंकोलोजी, पढाउन पाइनँ मैले ।

ढाकाकुमार श्रेष्ठ – त्यै त यो सबै बेथिति छ ।

दुर्गा प्रसाईँ – मेरो त हेर्नुस् न म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नुस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौँ उपत्यका बाहिर मेची अञ्चलमा । ल भन्नुस् त ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नुस् त ? म त मर्न मात्रै बाँकी छ।

ढाकाकुमार श्रेष्ठ – त्यै त ! यो हटाउनपर्छ सर यस्ता कुराहरू । यो समस्या समाधान गर्नुपर्छ ।