पार्टी र सभापति लामिछानेका नाममा रास्वपा सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक

Byन्यूज स्रोत

२०७९ चैत्र २६, आईतवार ०८:५४ गते २०७९ चैत्र २६, आईतवार ०८:५४ गते २०७९ चैत्र २६, आईतवार ०८:५४ गते

पोखरा २६, चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट प्रतिनिधिसभा सांसद बनेका ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा जोडिएका छन् ।

पार्टीको गण्डकी प्रदेश समितका सभापति समेत रहेका नेता श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको अडियोमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भनेका छन् ।

पार्टी सभापति रवि लामिछानेले मन्त्री बन्ने भए साढे २ करोड बुझाउन भनेको भन्दै सांसद श्रेष्ठले व्यवसायी प्रसाइसँग उक्त रकम मागेको अडियोमा सुनिन्छ ।

उनले उधारोमा पार्टीले हुन्न भन्ने हुँदा तत्काल नगद अथवा चेक मार्फत पैसा दिनुपर्ने सुनाएका छन् ।  सांसद श्रेष्ठले तत्काल एक करोड रुपैयाँ मात्र भएपनि सभापति लामिछाने आफुँलाई मन्त्री बनाउन तयार रहेको भनेका छन् ।

जवाफमा प्रसाईंले दुई करोड रुपैयाँ उपलब्ध गराउने तर आफ्नो काम गरिदिनुपर्ने भनेर शर्त राखेका छन् । प्रसाइसँगको कुराकानीमा सांसद श्रेष्ठले पैसा लेनदेनको विषय पार्टीको कोर टिमका दुई/तीन जनालाई मात्र थाहा भएको बताएका छन् ।

अडियो सार्वजनिक भएपछि रास्वपाले यस प्रकरणमा छानबिन गर्ने भएको छ । सो अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले हाम्रा प्रतिनिधिलाई बताए ।

‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उनले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं । कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’

सांसद श्रेष्ठमाथि केही समय अघिमात्र पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो ।