हङ्गेरीकी लिभिया मोल्नार चार वर्षअघि नेपाल आएकी थिइन् । त्यतिबेला नेपालको सुन्दरताले मोहित लिभिया त्यसपछि हरेक वर्ष हिउँदमा दुईदेखि पाँच महिनासम्म नेपालका हिमाली भेगमा स्वतन्त्र विचरण गर्दै बिताउँदै आएकी छिन् ।

तर पछिल्लो समयले सरकारको सोलो फरेन ट्राभलर अर्थात एक्लै यात्रा गर्ने विदेशी पर्यटकलाई प्रतिबन्ध गर्ने निर्णय गरे पछि भने उनी दुखी भएकी छिन् । उनले नेपाल सरकारले गर्न लागेको यस निर्णयका कारण स्वतन्त्र घुम्न चाहने थुप्रै पर्यटक निराश बनेको जनाएकी छिन् । पोखरा न्यूजसँग कुराकानी गर्दै लिभियाले भनिन्, “यस निर्णयले नेपाल घुम्न आउने म जस्ता पर्यटकको प्रमुख उद्देश्यलाई नै प्रभावित पारेको छ ।”

आफू अहिले स्वतन्त्र घुम्न पाए जसरी घुमफिर गर्न नपाउने हो भने आफू पछि नेपाल आउन नचाहने पनि उनले बताइन् । नेपालमा सोलो ट्राभलर भएर घुम्दा पाउने फरक अनुभूति, स्वतन्त्रताको आभाषजस्ता विशेषताले विश्वका कैयौं पर्यटकलाई लोभ्याएको उनको भनाई थियो । आफूले चाहे अनुसार यात्राको लम्बाई घटाउदै-बढाउदै, मन लागेका गाउँठाउँमा इच्छा अनुसार बस्दै, आफ्नो निर्णय आफै लिन पाइने जस्ता विशेषताले पनि नेपालमा ट्रेकिङ खास भएको पनि उनले बताइन् ।

यस निर्णयले बजेट ट्राभलर्स मुख्य रुपमा प्रभावित बन्न सक्ने पनि उनले बताइन् । सरकारको यस निर्णयका कारण पर्यटकले पथप्रदर्शक र भरियामा लागि बजेट छुट्ट्याउनु पर्दा यात्रा नै छोट्ट्याउने, ट्रेक छिटो सक्ने, ट्रेललाई कम समयमा नै सक्न प्रयास गर्ने जस्ता समस्या देखिने पनि उनले औल्याइन् । यसरी एकतर्फी निर्णय लिँदा कतिपय साथी पर्यटकले नेपाल भ्रमण नै रद्द गर्न लागेको समेत उनले जानकारी दिइन् ।

सरकारले एकल यात्रा गर्ने विदेशी पर्यटकलाई प्रतिबन्ध लगाउनुको साटो ट्रेकरसँग ट्रेलका जोखिम र अप्ठ्याराबारे जानकारी भए नभएको परीक्षा लिने, उनीहरुको कपडा ट्रेकिङ गेयरको अवस्था र उपलब्धता बारे चेकजाँच गर्ने, आफ्नो सुरक्षाबारे आफै जिम्मेवार छु भनेर कन्ट्राक्ट गर्ने, जिपिएस डिभाइस वा एप अनिवार्य गर्ने जस्ता सुरक्षाका उपाय अपनाउन उनले सुझाव दिइन् । सुनौलो पिँजडामा सुरक्षित थुनिनु भन्दा केही पल स्वतन्त्र बाँच्न पाउनु मानवको चाहना भएको पनि उनले बताइन् । उनले आफू जस्तै आफ्ना कैयौं साथीहरु यस निर्णयले दुखी भएको पनि बताइन् ।

सरकारले यसै अप्रिल १ गते देखि लागू हुनेगरी पथप्रदर्शकविना ट्रेकिङ जान पर्यटकलाई बन्देज लगाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.