एक करोड १० लाख अनुमानित मूल्यका सुन र हीराका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
बुधबार मध्यराति करिब १ बजे चितवनको भरतपुर नगरपालिका-९ गोन्द्राङमा पूर्वबाट पश्चिम जाँदै गरेको कारको चेकजाँच गर्दा ठूलो मात्रा गरगहना बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पश्चिम बङ्गालमा दर्ता भएको १२ एभि ५५६६ नम्बरको भारतीय कारमा ड्राइभर सिट पछाडि रहेको सिटमुनी, गियरबक्स र एयर फिल्टरभित्र लुकाएर ल्याएको हिरा र बहुमूल्य पत्थर जडित सुनका गरगहना फेला परेको हो ।
पक्राउ पर्नेमा उत्तर प्रदेशको बलिया जिल्ला पेफना थाना घर भएका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गालको हौडा जिल्ला गोलावाडी बस्ने ५१ वर्षीय गणपत कुमार तोसावार र सोही स्थानका ४२ वर्षीय नरेश बर्मा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ६३ तोला सुन र २२ तोला हिराजडित गहना बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी चितवनका अनुसार उक्त गरगहना कलकत्ता हुँदै काठमाडौँ लान लागिएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।