यती एयर विमान दुर्घटनामा दिवङ्गतहरुको ४५ दिने पुण्य तिथिमा विशेष धार्मिक कार्यक्रम

Byन्यूज स्रोत

२०७९ फाल्गुन १७, बुधबार ०२:१८ गते २०७९ फाल्गुन १७, बुधबार ०२:१८ गते २०७९ फाल्गुन १७, बुधबार ०२:१८ गते

यती एयरलाइन्सको विमान दुर्घटनामा दिवङ्गत भएकाहरुको ४५ दिने पुण्य तिथिमा पोखरामा विशेष धार्मिक कार्यक्रम गरिएको छ ।

पोखरा महानगरपालिकाको आयोजना तथा श्री मुक्तिनाथ सन्त सेवा आश्रम र राष्ट्रिय परोकार महासंघको व्यवस्थापनमा दुर्घट्ना स्थलको पुर्वी मोहडा वडा नं.७ को भागमा विशेष धार्मिक कृत्य सम्पन्न गरिएको थियो । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज जिको विशेष उपस्थितिमा दिवङ्गत आत्माहरुको मुक्तिका लागि विशेष कार्यक्रम गरिएको हो ।

दिवङ्गत आत्माहरुको मुक्ति, उद्धार तथा कल्याणको लागि र शोक सन्तप्त परिवारजनहरुमा शान्ति रहोस् भनेर भगवानसँग बिन्ति र प्रार्थना गर्ने कार्य गरिएको हो । १०८ जना गुरुहरुबाट १८ पुराण, उपनिषद्हरु, गिता, रामायण, महाभारत आदि पाठपारायण गरि दिवङ्गत आत्माहरुको स्मृति र प्रार्थना गरिएको हो ।

कर्कलाको पातमा अडिएको पानीको थोपा जस्तै मानव जीवनले कुन बेला के भोग्नु पर्छ भन्ने कुराको टुंगो नभएको बताउँदै मुक्तिनाथ बाबाले यस्ता प्रकारका दुखहरु संसारका कुनै पनि मानिसहरुलाई आइनपरोस् भन्ने कामना समेत गरेका थिए । स्वस्ती बाचन मंगलाचरणबाट सुरु गरिएको कार्यक्रम शास्त्र पारायण र भगवान नाम संर्कितनसहित समापन गरिएको थियो ।

कार्यक्रममा पोखरामा रहेका विभिन्न सामाजिक संघ संस्था, धार्मिक संघ संस्थाहरु, वेद विद्याश्रम, गुरुकुल, संस्कृत विद्यापीठलगायत शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।