यूरोपको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने कमिस्नर जुट्टा उर्पिलाइनेन र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएका छन् ।
उर्पिनाइनेन एक दिने भ्रमणका लागि माघ २६ गते काठमाडौँ आउने नेपालस्थित युरोपेली संघको दूतावासले जनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपश्चात युरोपेली युनियनबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । उर्पिनाइनेनले काठमाडौँमा रहँदा राजनीतिक भेटघाट तथा केही महत्वपूर्ण सम्झौता गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी यूएसएडकी प्रमुख सामन्था पावर मङ्गलबार नेपाल आउँदै छिन् । त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको छ ।
भेटघाटमा युएसएडले दिने भनिएको ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे छलफल हुने पनि बताइएको छ । पावर भोलि नै फर्कने कार्यक्रम रहेको छ । एक साता अघिमात्र अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएकी थिइन् ।