टर्कीमा ७.८ रेक्टरको भुइँचालो गएको ९ घन्टा नबित्दै अर्को ७.५ रेक्टर स्केलको भुइँचालो गएको छ ।
त्यहाँको स्थानीय समय अनुसार मध्यान्ह १:३० बजे दोस्रो शक्तिशाली भुइँचालो गएको हो । पहिलो भुइँचालो बिहान स्थानीय समय ४:१८ बजे मानिसहरु सुतिरहेको बेला गएको थियो । पहिलो भुइँचालोबाट प्रभावितको उद्धार गर्न नपाउँदै दोस्रो शक्तिशाली भुइँचालो गएपछि टर्की र सिरियामा उद्धार कार्यसमेत अस्तव्यस्त हुन पुगेको छ ।
टर्कीका राष्ट्रपति ताय्यिप इर्दोगानका अनुसार पहिलो भुइँचालोबाट टर्कीमा मात्रै ९ सय १२ जनाले ज्यान गुमाइसकेका थिए भने ५२ सय भन्दा बढी घाइते भएका छन् । यसैगरि सिरियामा ३ सय ७० भन्दा बढीको मृत्यु भइसकेको सिरियाली अधिकारीहरुले जनाएका छन् ।
पहिलो भुइँचालोको केन्द्रविन्दु रहेको गाजियन्तेप भन्दा १ सय २८ किमी पुर्वमा रहेको एल्बिस्तानमा दोस्रो भुइँचालोको केन्द्रविन्दु रहेको अमेरिकी जियोलोगिकल सर्भेले जनाएको छ । भुइँचालोले भत्किएका घरहरुमा अझै हजारौं मानिसहरु फसेको आशंका गरिएको छ भने उद्धार कार्यमा सहायता पुर्याउन त्यहाँका नेताहरुले विश्वसँग अपिल गरेका छन् ।
भुइँचालो पछि टर्कीका १० शहरहरुमा विद्यालयहरु एक सातासम्म तथा एयरपोर्टहरु पुर्ण वा आंशिक बन्द गरिएका छन् । यता सिरियामा युद्धले पहिले नै क्षति पुगेको एलेप्पो शहरलाई भुइँचालोले ध्वस्त पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।