७.८ रेक्टर स्केलको भुइँचालोले टर्की र सिरियामा कम्तिमा तीन सय जनाको मृत्यु भएको छ ।
सोमबार सबेरै मध्य टर्की र दक्षिण पश्चिम सिरियालाई हल्लाएको शक्तिशाली भुइँचालोका कारण सयौँ घर ढलेका छन् भने घाइतेको संख्या दुई हजार बढी पुगेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भुइँचालोको धक्का साइप्रस, इजरायल र लेबनानसम्म महसुस भएको जनाइएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भुइँचालोको केन्द्रविन्दु टर्कीको गाजियान्तेप प्रान्तको नुर्दागीबाट २३ किलोमिटर पुर्व रहेको थियो ।
मुख्य भुइँचालोपश्चात पनि शक्तिशाली पराकम्पहरु गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भुइँचालोको करिब ११ मिनेट पछि ६.७ रेक्टर स्केलको शक्तिशाली पराकम्प तथा ५ रेक्टर स्केल माथिका थप ५ पराकम्पहरु गइसकेका छन् ।
सामाजिक सञ्जालमा भुइँचालोले भग्नावशेषमा परिणत गरेका भवनका तस्वीरहरु देख्न सकिन्छ भने अस्पतालमा घाइतेहरुको लामो ताँती देख्न सकिन्छ । उद्धारकार्य जारी रहेकाले घाइते र मृतकको संख्या अझै धेरै बढ्ने जनाइएको छ । त्यहाँको सिरियन अमेरिकन मेडिकल सोसाइटीले अस्पतालहरु भरिभराउ भइसकेको र आकस्मिक सेवाका लागि सहायताको आवश्यकता रहेको जनाएको छ ।
भुइँचालोले अल दानालगायत केही अस्पतालमासमेत क्षति गरेपछि त्यहाँका बिरामीलाई नै उद्धार गर्नुपरेको थियो । त्यस्तै इद्लिब प्रशुति अस्पतालमा पनि भुइँचालोले क्षति पुर्याउँदा सबै शिशुलाई नजिकैको अस्पतालमा सार्नुपरेको थियो ।
टर्कीका राष्ट्रपति तायिप इर्दोगनले भुइँचालो प्रभावित आठवटै प्रदेशका गर्भनरलाई फोन गरेर उद्धार कार्यका बारेमा जानकारी लिएका थिए । त्यसैगरी सिरियाली राष्ट्रपति बसर अल असदले क्याबिनेटको आकस्मिक बैठक डाकेका थिए ।