पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औँ बिटी कप छैटौँ विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आजदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलबाट हाम्रो एफसीले विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा डाडाँगाउँ एफसीलाई टाइबेकरमार्फत ४–३ गोल अन्तरले पराजित गर्दै हाम्रो एफसी दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक बिनोद गुरुङले जानकारी दिए । उनका अनुसार खेल १–१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो ।

यस्तै दोस्रो खेलमा एम फाइभ मालेपाटनले सराङकोट एफसीलाई २–० को गोल अन्तरले पराजित गर्याे । एम फाइभको जीतमा आयुष थापाले २ गोलको योगदान दिए । खेल संयोजक गुरुङका अनुसार सोमबार पहिलो चरणकै ८ वटा खेल हुनेछ ।

सो प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले खेलकुदको विकासका लागि आफूले पहल गर्ने बताए । विगत २१ वर्षदेखि खेलकुदमा काम गर्दै आएको उल्लेख गर्दै बरालले पोखरालाई खेलकुदको केन्द्र बनाउने पक्षमा सदनमा प्रतिबद्ध रहने बताए । प्रदेश सांसद बरालले खेलकुदको विकासका लागि आफु सधै सकारात्मक रहेको बताउदै सोही अनुसार सदनमा प्रस्तुत हुने बताएका थिए ।

आगामी फागुन २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६-६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा क्वाटरफाइनलदेखि म्यान अफ द म्याच खेलाडीलाई ट्रफी र नगदले पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.