आइएमएफको ३ अर्ब डलर राहत पाउने सर्त पूरा गर्दै श्रीलंका

Byन्यूज स्रोत

२०७९ माघ २२, आईतवार १३:३० गते २०७९ माघ २२, आईतवार १३:३० गते २०७९ माघ २२, आईतवार १३:३० गते

आर्थिक संकटका कारण टाट पल्टिएको देशको अर्थ व्यवस्था सुधार्न श्रीलंकाले आइएमएफको ३ अर्ब डलर राहत पाउने सर्त पूरा गर्ने भएको छ ।

श्रीलंकन राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत पाउन कठिन प्रक्रिया पुरा गर्न लागेको र अब कोषले पनि राहत दिन विलम्ब गर्न नहुने बताएका हुन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका दिन सम्बोधन गर्दै उनले आफ्ना निर्णयहरु अलोकप्रिय भए पनि बाध्यकारी भएको र तमाम राष्ट्रप्रेमी जनताले त्यसमा साथ दिने पनि बताए ।

देशको डलर संचितीमा ठूलो र्हास, व्यापक मुल्यवृद्धि र उच्च करका कारण त्यहाँको अर्थव्यवस्था नै पुरै तहसनहस भएको थियो । डलरको अभावमा त्यहाँ आयात पुरै बन्द हुँदा इन्धन, औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव भएको थियो भने उर्जा संकटका कारण लोडसेडिङसमेत भएको थियो ।

अहिले श्रीलंका आफ्ना मुख्य तीन आर्थिक सहायक एवम् ऋणदाता देशहरु चीन, जापान र भारतलाई आश्वस्त पार्न प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको यो सहयोगले यी देशलाई पनि सकारात्मक बनाउने श्रीलंकाको आशा छ ।

त्यहाँको राष्ट्र बैंकले सन् २०२३ को दोस्रो हाफमा व्यापक आर्थिक परिवर्तन आउने र मुद्रास्फीति पनि एकल अङ्कमा झर्ने प्रक्षेपण गरेको छ ।