राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसले उम्मेदवारी नदिई नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई नै समर्थन गर्ने भएको छ ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ । लामो समयसम्म नेकपा एमालेमा रहेकी नेतृ अर्याल पछि माओवादी केन्द्र प्रवेश गरेकी थिइन् ।
पछिल्लो समय काङ्ग्रेसले निरन्तर माओवादीलाई समर्थन गर्दै जारी सत्ता गठबन्धनमा प्रभाव पार्ने प्रयास गरिरहेको आरोप छ । यसअघि प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार देवराज घिमिरेविरुद्ध भने काङ्ग्रेसले ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।