हिन्दू धर्मावलम्बीहरुले श्रद्धापुर्वक मनाउँदै आएको स्वस्थानी व्रतकथाको आज समापन हुदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमा गरि एक महिनासम्म पठन तथा श्रवण गरिदै आएको स्वस्थानी कथाको आज अन्तिम अध्याय पढेसँगै व्रत पनि सम्पन्न हुनेछ ।
काठमाडौँको शालीनदी, पशुपतिको गौरीघाटलगायत स्थानमा आज विधिपुर्वक पुजाआजा गरि माधवनारायणको व्रत बसेका व्रतालुले व्रत समापन गर्दैछन् । आज बिहानैदेखि ती स्थानमा भक्तजनको भीड लागेको छ । शालीनदीमा विशेष गरि अन्य जिल्लाबाटसमेत आएका भक्तजनको उल्लेख भीड देखिएको छ ।
स्वस्थानी कथामा उल्लेख विधिअनुसार आजका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाएर व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिएर व्रतको समापन गरिन्छ । स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवाद स्वस्थानी व्रत कथामा पढ्न सकिन्छ ।