नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा हिमालयन बैंकका संस्थापक हिमालयशमशेर जबराको आज निधन भएको छ ।
९५ वर्षीय राणाको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान साढे ६ बजे निधन भएको हो । उनलाई लामो समयदेखि स्वासप्रश्वासको समस्याले दुख दिँदै आएको थियो । उनको अन्त्येष्टि आज ११ बजे पछि पशुपति आर्यघाटमा गरिने उनको परिवारस्रोतले जनाएको छ ।
देव समशेरका नाति राणा बि.सं २०१३ बैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म राष्ट्रबैंकका गभर्नर रहेका थिए । २९ वर्षमै गभर्नर बनेका राणाले आफ्नो कार्यकालमा नेपालको तराई भुभागमा भारतीय रुपैयाँलाई नेपाली रुपैयाँले प्रतिस्थापित गर्न उनको उल्लेख्य योगदान रहेको जानकारहरु बताउँछन् । नोट निष्कासन गर्न त्यसको ५० प्रतिशत सुन वा चाँदी राख्नुपर्ने नियम पनि उनैको पालामा बनेको थियो ।
त्यसअघि उनले अर्थ मन्त्रालयको पहिलो सचिवका रुपमा पनि बि.सं २००८ देखि २०१३ सम्म काम गरेका थिए । देव समशेरका नाति राणाले हिमालयन डिस्टिलरीको पनि स्थापना गरेका थिए । राणाको दुई छोरा र दुई छोरी रहेका छन् ।