सुन्दरबजार महोत्सव फागुन १८ देखि

Byन्यूज स्रोत

२०७९ माघ २२, आईतवार ०३:०९ गते २०७९ माघ २२, आईतवार ०३:०९ गते २०७९ माघ २२, आईतवार ०३:०९ गते

नवौँ सुन्दरबजार महोत्सव फागुन १८ देखि २८ गतेसम्म आयोजना हुने भएको छ ।

लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईको आयोजनामा हुन लागेको महोत्सवका लागि १ सय ५५ जनाको मूल आयोजक समिति र ३२ वटा उपसमिति गठन गरेर तयारी सुरु गरेको जनाइएको छ । सुन्दरबजारको लमजुङ क्याम्पसको खेलमैदानमा आयोजना हुन लागेको महोत्सवमा १ सय ५० वटा व्यावसायिक स्टलहरु रहने आयोजकले जनाएको छ ।

ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलहरुको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रबर्द्धन, स्थानीय सिप, कला, प्रविधि, उत्पादन र संस्कृतिको जगेर्ना तथा स्थानीय क्षेत्रका प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकको भनाई छ । महोत्सवको आठौँ संस्करण वि.सं २०७४ मा भएको थियो ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय कृषि घरेलु तथा हस्तकला प्रदर्शनी, वडास्तरीय लोकदोहोरी प्रतियोगिता, स्थानीय फोटो प्रदर्शनी, माविस्तरीय लोकनृत्य प्रतियोगिता, परम्परागत खाना महोत्सव, जातीय सांस्कृतिक झलकहरुको प्रस्तुतिलगायत आकर्षक कार्यक्रमहरु आयोजना हुने जनाइएको छ । महोत्सव यस अघि फागुन ५ देखि १४ सम्म आयोजना गर्ने बताइएपनि प्राविधिक कारणले दुई साता पछि सारिएको पनि आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा कूल ६३ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब एक लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दाबी छ ।