राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने सम्बन्धमा निर्णय गर्न अघि सरकारलाई दिएको दुई दिने अल्टिमेटम आज सकिदैछ । अल्टिमेटम सकिन लाग्दा पनि न गृहमन्त्रीको टुङ्गो लागेको छ न उच्चस्तरीय संयन्त्रको बैठकको समय जुटेको छ ।
शुक्रबार पार्टीको बैठकमा सरकार छोड्ने वा नछोड्ने बारे निर्णय हुनलाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोन गरेरै अनुरोध गरेपछि थप निर्णय लिन दुई दिन कुर्ने रास्वपा प्रवक्ता मुकुल ढकालले बताएका थिए । ढकालले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नबसेकाले पनि पार्टीले निर्णय नलिएको पनि बताएका थिए ।
नागरिकता मुद्दामा सांसदलगायत गृहमन्त्री पद गुमाएका रवि लामिछानेले नागरिकता पुनप्राप्ति गरिसकेका छन् भने पार्टीको सभापति पद पनि उनले फिर्ता पाइसकेका छन् । तर गृहमन्त्री पद बारे पार्टी भित्रैबाट फरक मत र प्रधानमन्त्री पुष्पकमल दाहालको उच्च रेजिस्टेन्सले लामिछानेलाई गृहमन्त्री पद फिर्ता पाउन भने निकै सकस पर्ने देखिन्छ ।
राष्ट्रपति चुनावसम्म गृहमन्त्री आफैसँग राख्ने मुडमा रहेका प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष ओलीको भने निरन्तर दबाब छ । ओलीले गृहमन्त्रीसम्बन्धि निर्णय पहिले नै भइसकेकाले रास्वपाले नै पाउने र व्यक्ति को हुने भन्ने रास्वपा कै कुरा भएको बताउँदै आएका छन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति चुनावलाईसमेत मध्यनजर गर्दै आफूलाई मध्यवर्ती मार्ग खुला राख्न प्रयास गर्दा देशको राजनीति भने थप अस्थीरतातर्फ जाने खतरा देखिएको जानकारहरु बताउँछन् ।