घरपरिवार र आफन्तविहीन भई कष्टप्रद सडकजीवन बिताउँदै आइरहेका सहयोगापेक्षी सडकआश्रितहरुको सेवामा समर्पित मानवसेवा आश्रमको भवन निर्माणार्थ आजबाट पोखरामा महायज्ञ आयोजना हुँदैछ ।
आज ११ बजे विष्णु पादुका माई स्थानबाट कलश यात्रा सुरु भई प्रगति चोक, मिलन चोक, सापकोटा चोक हुँदै बावियतारामा पुगी औपचारिक रुपमा महायज्ञ समुद्घाटन हुने कार्यक्रम रहेको छ । मानवसेवा आश्रमको निर्माणाधिन भवन प्राङ्गणमै तयार पारिएको पण्डालमा महायज्ञ हुने आयोजकले जनाएको छ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ मन्त्री पञ्चराम गुरूङले आज महायज्ञको समुद्घाटन गर्नुहुने मानवसेवा आरुश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । यज्ञको प्रमुख वाचकमा मानवसेवा आश्रमका अभिभावक एवं भागवत भाष्कर कमल नयन गौतम रहनुहुने जनाइएको छ ।
मकवानपुर हेटौंडामा २०६९ सालमा स्थापना भएको मानवसेवा आश्रमले २०७४ साल चैत्र १७ पोखरामा आफ्नो ९ औं शाखाको रुपमा सेवा विस्तार गरेको थियो । नेपाल सरकारका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रविन्द्र अधिकारीले प्रमुख अतिथिका रुपमा मानवसेवा आश्रम पोखरा शाखाको समुद्घाटन गर्नुभएको थियो ।
छोरेपाटन स्थित भाडाको घरबाट सेवा सुभारम्भ गरेको मानवसेवा आश्रमलाई पोखरा २५ बाबियातारा हेम्जामा ६३ रोपनी जग्गाश्री लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएपछि मानवता, परोपकार र सामाजिकसेवा अध्ययनको गन्तव्य कै रुपमा विकास गर्नेगरी मानवसेवा आश्रमले निर्माण कार्य अघि बढाएको थियो ।
दश करोड पचहत्तर लाख अनुमानित लागत रहेको मानवसेवा आश्रम पोखरा शाखाको पचास प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने अव भवन निर्माण सम्पन्न गर्न ४ करोड रुपैयाँ आवश्यक रहेको मानवसेवा आश्रमका कोषाध्यक्ष एवं गण्डकी प्रदेश प्रमुख होमनाथ तिमल्सिनाले बताउनुभयो ।
महायज्ञलाई सम्पन्न गर्न आश्रमका अभिभावक तथा जग्गादाता परिवार सदस्य मोति बहादुर थापा ज्यूको संयोजकत्वमा १००८ सदसीय मूल आयोजक समिति र ३३ विषयगत समितिहरु गठन भएको छ । महायज्ञलाई सफल बनाउन सातै प्रदेशमा रहेका मानवसेवा आश्रमका अभियान्ताहरु पोखरा केन्द्रीत भइरहेका जनाइएको छ ।
महायज्ञ अन्तर्गत २७ गतेसम्म हरेकदिन बिहान ११ बजे देखि ४ बजेसम्म कथा प्रवचन र झाँकी प्रर्दशन हुनेछ भने हरेक दिन साँझ ७ बजे देखि ९ बजेसम्म सन्ध्याकालीन भजन आयोजना हुनेछ ।