राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई

Byन्यूज स्रोत

२०७९ फाल्गुन १६, मंगलवार ०४:१९ गते २०७९ फाल्गुन १६, मंगलवार ०४:१९ गते २०७९ फाल्गुन १६, मंगलवार ०४:१९ गते

पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दिन चलेको प्रतियोगितामा पोखरा महानगर २८ स्वर्ण, १० रजत र ६ काँस्य गरी ४४ पदकसहित प्रथम भएको हो ।

३० स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा रुपा गाउँपालिकाले २ स्वर्ण र ४ काँस्य सहित ६ पदक प्राप्त गरी दोश्रो भएको छ । त्यसै गरी ९ रजत र ९ काँस्य गरी १८ पदक जित्दै माछापुच्छ्रे गाउँपालिका तेश्रो भएको छ । अन्नपूर्ण गाउँपालिका ७ रजत र ८ काँस्य गरी १५ पदक सहित चौथो स्थानमा रह्यो । मादी गाउँपालिका भने प्रतियोगिता भरि पदक विहिन भयो । विजेतालाई उपाधिको साथमा १२ हजार, उपविजेतालाई ९ हजार प्रदान गरिएको थियो ।

पोखरा महानगरपालिकाको जितमा सविना खातुन एक्लैले ५ स्वर्ण, एन्जल अधिकारीले ४ स्वर्ण पदक दिलाए । पोखरा रामघाटमा रहेको टप्स मावि कक्षा ९ मा अध्ययनरत खातुनले ४ सय मिटर, ८ सय मिटर, हाइजम्प, रिले तर्फ दुई स्वर्ण गरी ५ स्वर्ण पदक जितेकी हुन् । त्यस्तै पोखरा २७ को त्रिवेणी पब्लिक स्कुलकी एन्जल अधिकारीले १ सय मिटर, २ सय मिटर, लङजम्प र रिलेमा गरी ४ वटा विधामा स्वर्ण पदक जितेकी हुन् । पोखरा महानगरको एथ्लेटिक्सतर्फका प्रशिक्षक शंकर शाहले पोखराका छनौट भएका खेलाडीहरु कास्की जिल्लामा छनौट हुने गरी थप मेहनत गर्ने बताए । मार्सल आर्ट सहित ९४ जना खेलाडीहरु जिल्लास्तरीय प्रतियोगिताको लागि छनौट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डि.बि.नेपालीले बताए ।

विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ, नेपाल भारतोलन संघका केन्द्रिय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।