गोरखामा सडक नभएको ठाउँमा पुल बनाउने पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

Byन्यूज स्रोत

२०७९ फाल्गुन १४, आईतवार १०:४९ गते २०७९ फाल्गुन १४, आईतवार १०:४९ गते २०७९ फाल्गुन १४, आईतवार १०:४९ गते

गोरखामा दरौंदी नदीमाथि सडक नै नभएको स्थानमा मोटरेबल पुल बनाउने पूर्वसचिवसहित तीनजनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोरखा नगरपालिका-३ जरेवरमा दरौंदी नदीमाथि मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्ठाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मरहट्ठाविरुद्ध आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले सम्झौतामा हुँदै नभएको कार्यक्रम कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तन गरेको र डिजाइन स्वीकृत गराएर निर्माण कार्य अघि बढाएको अख्तियारको आरोप छ । सोही कसूरमा अख्तियारले अन्य दुई जना कर्मचारीमाथि मुद्दा दायर गरेको छ ।

यसैगरी अख्तियारले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयअन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठले पनि काल्पनिक सडक खडा गरी जरेवरस्थित दरौंदी खोला पुलको डिजाइन गराई राज्यलाई हानी नोक्सानी पुर्याएको आरोप लगाएको छ ।

पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाविरुद्ध पनि अख्तियारले विशेष अदालतम आरोपपत्र दायर गरेको छ ।