१७ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुख्य स्पर्धा ४२ किमि म्याराथन दौडको उपाधि केन्याका धावक स्टेफन कोसगेईले जितेका छन् ।

आज भएको स्पर्धामा दौड दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गर्दै कोसगेई विजेता भएका हुन् । केन्याकै अर्का धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भए भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय भए । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गरेका थिए ।

दौडमा प्रथमले पाँच लाख, द्वितीयले तीन लाख र तृतीयले दुई लाख पुरस्कार प्राप्त गरे । केन्याकै सिमोनले सान्त्वना स्थान हात पार्दै ३० हजार रुपैयाँ पुरस्कार पाए । म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ भएको हाफ म्याराथनमा नेपाल प्रहरीका राजपुरा पछाई प्रथम हुँदै पोखरा हाफ म्याराथनको उपाधिमा ह्याट्रिक गरिन् । उनले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गर्दैै च्याम्पियन बनेर एक लाख ५० हजार पुरस्कार पाइन् । यस्तै सशस्त्र क्लबकी वृन्दा श्रेष्ठले द्वितीय हुँदै एक लाख पुरस्कार पाइन् । उनले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेन्डमा पूरा गरिन् भने सेनाकी पूर्णलक्ष्मी न्यौपानेले तृतीय बनिन् ।

न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरी तृतीय बनेर रू ७५ हजार पुरस्कार प्राप्त गरिन्। नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेन्डमा हाफ म्याराथन सम्पन्न गरी सान्त्वना स्वरुप १५ हजार रुपैयाँ पुरस्कार जितिन् ।

१० किमी दौडतर्फ सशस्त्र प्रहरीकी आशा राउतले प्रथम भइन् । उनले निर्धारित दूरी ५० मिनेट १२ सेकेन्डमा पूरा गरेकी थिइन् । सोही स्पर्धामा नेपाल प्रहरीकी वृष्मा कुमाल द्वितीय र नेपाली सेनाकी कल्पना खड्का तृतीय भइन् । पुरुष १० किमी दौडतर्फ नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्वितीय र पाँचथरका दीपक सुहाङ तृतीय भए । महिला पुरुष दुवै स्पर्धाका प्रथम, द्वितीय र तृतीयले क्रमश ३० हजार, २० हजार र १५ हजार पुरस्कार पाए ।

यसैगरी रन फर फन इभेन्टमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले सहभागिता जनाएका थिए । मुख्यमन्त्री अधिकारी र मेयर आचार्यले ५ किलो मिटरको दुरी पुरा पनि गरेका थिए । म्याराथनमा स्वदेशी तथा विदेशी धावकहरू सहित रन फर फनमा हजारौँ सर्वसाधारण सहभागी भएका थिए ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.