भारतीय विदेश सचिव विनयमोहन क्वात्रा फागुन १ गते नेपाल आउने भएका छन् ।
नेपाली समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउने भएका हुन् । दुई दिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याललगायत प्रमुख पार्टीका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयले आज निकालेको विज्ञप्ति अनुसार भ्रमणका क्रममा क्वात्राले कनेक्टिभिटी, विद्युत व्यापार, कृषि, स्वास्थ्य तथा संस्कृति लगायतका विषयमा नेपाल र भारतबीच दुईपक्षीय सहकार्यबारे छलफल हुने जनाइएको छ । क्वात्राको भ्रमण दुई मैत्रीपुर्ण देशबीच हुने नियमित भ्रमण आदानप्रदान कै क्रम निरन्तरता भएको मन्त्रालयको भनाई छ ।
भ्रमणले नेपाल र भारतको सम्बन्धलाई विस्तार गर्न तथा सुदृढ बनाउन मद्दत पुर्याउने पनि मन्त्रालयले उल्लेख गरेको छ ।