प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न काठमाडौँ महानगरका मेयर बालेन शाह बालुवाटार पुगेका छन् ।
सोमबार बिहान बालुवाटार पुगेका मेयर शाह र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मेयर शाहले महानगरले गर्दै आएको अभियानमा संघ सरकारबाट सहयोग माग्दै आएका छन् । उनले केही समयअघि पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि सहयोग मागेका थिए ।
काठमाडौँको सुकुम्बासी बस्ती हटाउने अभियानमा बलियो प्रतिरोध खेपिरहेला मेयर शाहविरुद्ध आन्दोलन नै भइरहेको छ । उनको कामकारबाहीको शैलीको विरोधमा हिजो काठमाडौँमा विरोधसभा पनि आयोजना भएको थियो ।
यता बालेनले चुनावको खर्च विवरण नदेखाएका हुनाले निर्वाचन आयोगले फागुन मसान्तसम्म जरिवाना तिर्ने समय तोकेको छ । सो अवधिसम्म पनि जरिवाना नतिरे उनलाई कारवाही हुने आयोगले जनाएको छ । जरिवाना तिर्ने मुडमा नरहेका बालेनले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।