राहदानी लिने प्रक्रिया सहज बनाउनका लागि राहदानी विभागले माघ १६ देखि दैनिक १५ सय जनाका दरले एक महिनासम्मका लागि कुल ४५ हजार अग्रिम अनलाइन आवेदन कोटा खोल्ने भएको छ ।
एक महिनासम्मका लागि यसरी अग्रिम आवेदन खोल्दा बढीमा ४५ हजार जनाले राहदानीका लागि आवेदन दिन सक्नेछन् । माघ १६ गते एकैपटक ४५ हजार जनाका लागि आवेदन खुलेपछि एक महिनापछिको दिनका लागि दैनिक १५०० आवेदन खुल्दै जानेछ । यसरी खोलिएको अनलाइन फाराम पनि सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने विभागले जानकारी दिएको छ ।
विभागबाहेक सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूलाई पनि आफ्नो क्षमता अनुसार अनलाइन आवेदन लिन विभागले अनुरोध गरेको छ । विभागले हाल छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र, तराईका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र, पहाडका सुगम जिल्लाहरूमा १५ देखि २० दिनभित्र, हिमाली जिल्लाहरूमा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्ने व्यवस्था गरेको छ ।
अहिले ७७ वटा जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगबाट राहदानी जारी भइरहेको छ । राहदानी विभागबाट दैनिक ६ हजार राहदानी छपाई हुँदै आएको छ ।