अमेरिकी अन्डर सेक्रेटरी भिक्टोरिया नुलन्ड आज नेपाल आउने भएकी छिन् ।
अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुलन्ड आज साँझ दुई दिने भ्रमणका लागि नेपाल आइपुग्ने भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । सात दिने भ्रमणमा उनले नेपालसहित भारत, श्रीलंका र कतारको भ्रमण गर्नेछिन् । उनले नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नुलन्ड जर्ज बुस, बाराक ओबामा र जो बाइडेन गरि तीन अमेरिकी राष्ट्रपतिको कार्यकालमा महत्त्वपूर्ण भुमिकामा काम गरिसकेकी अनुभवी कुटनीतिज्ञ हुन् । इराक युद्धदेखि युक्रेनमा २०१३ को विद्रोहमा उनले उल्लेख्य भुमिका खेलेको जानकारहरुको भनाई छ । युक्रेनमा २०१४ मा नयाँ नेतृत्व स्थापित गर्ने क्रममा युरोपलाई अपशब्दले सम्बोधन गरेको उनको टेलिफोन वार्ता युट्युबमै लिक भएपछि उनी विवादित भएकी थिइन् ।
युक्रेनलाई इयुमा समावेश गर्ने पक्षधर आर्सेन यात्सेनयुकको पक्षमा व्यापक आन्दोलन भएपछि रसियाको समर्थनमा रहेका भिक्टर यानुकोभिच राष्ट्रपति पदबाट हटाइएका थिए । पछि नुलन्डले वार्तालापमा सबैभन्दा उचित उम्मेद्वार भनेर उल्लेख गरेको आर्सेन यात्सेनयुक नै त्यहाँका राष्ट्रपति बनेका थिए भने राष्ट्रिय सहमतिको सरकार पनि निर्माण भएको थियो ।
नेपालमा प्रतिनिधिसभा चुनावबाट पुष्पकमल दाहाल नयाँ नेतृत्वमा चुनिएपछि भएको यो सबैभन्दा ठूलो ओहदाको विदेशी कुटनीतिज्ञको भ्रमण हो । राष्ट्रपति चयनको विषयले तरल बनेको नेपाली राजनीतिलाई केही हदसम्म यस भ्रमणले प्रभावित पार्न सक्ने जानकारहरु बताउँछन् । राष्ट्रिय सहमतिको सरकार बनाउन प्रम दाहालले बल गरिरहेको बेला अमेरिकी भ्रमणले उनको यो आकांक्षा थप मलजल गर्ने अनुमान गरिएको छ ।
नुलन्डले अमेरिकी नेपाली पार्टनरशिपको विस्तृत एजेन्डामा नयाँ नेतृत्वसँग छलफल गर्ने मुख्य कार्यक्रम रहेको जनाइएको छ ।