चापाकोट पर्यटन प्रबर्द्धन समितिको आयोजनामा २०७९ माघ २४ देखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ ।
पोखरा महानपालिका २३ मा हुने उक्त महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने चापाकोट पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष भिमप्रसाद पराजुलीले जानकारी दिए । नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौलि प्रतियोगिता, खेलकुद प्रतियोगिता, बाल नृत्य प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगितालगायतका कार्यक्रम हुने पराजुलीले जानकारी दिए । प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
स्थानीय प्राकृतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रबर्द्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरि जनताको आय आर्जनमा वृद्धी ल्याउने लगायतको उदेश्यको साथ महोत्सव आयोजना गरिएको हो । पर्यटन क्षेत्रको विकास लागि उक्त महोत्सवको आयोजना गरिएको पराजुलीले जानकारी दिए । महोत्सवमा बचत भएको रकमले स्थानीय पर्यटन प्रबर्द्धनका लागि लेकसाइड देखी चापाकोट सम्म ठाउँ ठाउँमा सांकेतिक बोर्ड राख्ने, डकुमेन्ट्री निर्माण गर्ने, वेवसाइट निर्माण गरि पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने, पुस्तक पर्चा छपाइ र वितरण गर्ने काम गरिनेछ । महोत्सवबाट ३ लाख बचत हुने अनुमान गरिएको छ ।
चापाकोट पर्यटन प्रबर्द्धन समितिले बाम्दीबाट सुरु भइ भुम्दीकोट पुग्ने पैदलमार्ग सिढी बाटो बनाउने, अहिले संचालनमा रहेका होमस्टे थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्ने लगायतका योजना रहेका छन् । महोत्सवमा स्थानीय उत्पादन बिक्री वितरण पनि गरिने जनाइएको छ ।
महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेको छ भने सह प्रयोजकमा चापाकोट देउराली सामुदायिक होमस्टे रहेको छ ।