रवि लामिछानेलाई सर्वोच्च अदालतले गैरनेपाली करार गर्दै सांसद पद खारेज गरिदिएको सन्दर्भ जोड्दै सागर ढकालले गुलेली अझ तन्किएको प्रतिक्रिया दिएका छन् ।
डडेल्धुराबाट नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेर हार व्यहोरेका स्वतन्त्र उम्मेदवार ढकालले एक फेसबुक स्टाटस लेख्दै पुराना पार्टीहरुले जति गरे पनि रबर शक्ति सजिलै नचुढ्ने बताएका हुन् । उनके लेखेका छन्, ” हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ । अदालतको नजीर ठिक छ तर दुख दिने मनसाय बेठिक छ ।”
ढकालले लामिछानेलाई लगाइएको आरोप इङ्गित गर्दै आफूलाई कस्तो मुद्दा लाग्ला भन्दै प्रश्न पनि गरेका छन् । उनले थप लेखेका छन्, “एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्छ । यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन।”
उनले अब युवाहरु सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने आह्वान पनि गरेका छन् । हालसालै चितवनबाट फर्किएको उल्लेख गर्दै ढकालले अब चितवन २ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै फेरि चितवन जानुपर्ने देखिएको पनि बताएका छन् ।