अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) टाइगर कप भलिबल प्रतियोगिता हेर्न आउने भएका छन् ।
पोखरा रङ्गशालामा जारी तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को फाइनल खेल अवलोकनसँगै मनोरञ्जन प्रदान गर्न उनीहरु पोखरा आउन लागेका हुन् । उनीहरु दुवैजना माघ १४ गते पोखरा रंगशालामा हुने प्रतियोगिताको खेल हेर्न आउने भएका हुन् ।
सो बारे जानकारी दिँदै टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले कलाकारहरु दर्शकहरुलाई उत्साह भर्न आउन लागेको जानकारी दिए । “हामी उहाँहरुलाई स्वागत गर्न आतुर छौं । उहाँहरुको आगमनले दर्शकहरुले खेल सँगै भरपुर मनोरञ्जन प्राप्त गर्ने कुरामा हामी विश्वस्त छौँ,” अध्यक्ष शर्माले भने–“हामी उहाँहरुलाई विशेष अतितिको रुपमा स्वागत गर्दैछौँ ।”
ह्यारीकी प्यारी चलचित्रको प्रचारमा दुवै कलाकारहरु यति बेला व्यस्त रहेका छन् । नाट्य कलाबाट चलचित्रमा उदाएकी अभिनेत्री साम्राज्ञीले एक दर्जन चलचित्रमा सफल अभिनय गरेकी छन् । उनले ए मेरो हजुर २, मंगलम, इन्टु मिन्टु लन्डनमा, रातो टिका निधारमा, मारुनीलगायत चलचित्रमा सफल अभिनय गरी सकेकी छिन् ।
कमेडियनको जितु नेपालले लोकप्रिय हाँस्य टेलिशृङ्खला जिरे खुर्सानी, ट्वाक्क–टुक्कलगायत छक्का पञ्जासहित दर्जनौँ चलचित्रमा विभिन्न भूमिका निभाएका छन् । स्ट्याण्ड अप कमेडियनका रुपमा उनको मुन्द्रेको कमेडी क्लब कार्यक्रम पनि उत्तिकै चर्चित रहेको छ ।